
जेनजी सहिद स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ परेका छन्। उनलाई कार्यक्रमस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
जेनजी आन्दोलनका क्रममा जलाइएको पुरानो संसद् भवन अगाडि मंगलबार आयोजित स्मृति कार्यक्रममा खड्का पनि सहभागी भएका थिए। कार्यक्रममा उनले जेनजी आन्दोलन र आन्दोलनकारीको पक्षमा धारणा राखिरहेका बेला सहभागी केही व्यक्तिले हुटिङ गरेका थिए।
हुटिङ भएपछि खड्काले आफूलाई आफ्नो कुरा राख्न दिनुपर्ने भन्दै प्रतिवाद गरेका थिए। त्यसक्रममा उनी र सहभागीको एक समूहबीच विवाद उत्पन्न भएको थियो।
विवादका क्रममा सहभागीको समूहले आफूलाई दुर्व्यवहार गरेको खड्काको भनाइ छ। त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै खड्कालाई कार्यक्रमस्थलबाट नियन्त्रणमा लिएको हो।
कार्यक्रममा सहभागी एक समूहले हुटिङ गरेपछि आफ्नो धारणा राख्न खोज्दा आफूलाई रोकिएको र त्यसपछि प्रहरीले उल्टै आफूलाई नियन्त्रणमा लिएको खड्काले बताएका छन्।