रसुवा, भदौ २३ :

रसुवा भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा थप एक जनाको शव फेला परेको छ। बाढीका कारण सुरुङभित्र हराइरहेकाहरूको खोजी गर्ने क्रममा आज दिउँसो ३ बजे एक जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।

ड्रोनको प्रयोग गरी खोजतलास गर्दा शव फेला परेको हो। संयुक्त सुरक्षा टोलीले बाढीले पुरेका विभिन्न सुरुङमा खोजी तथा उद्धार कार्य जारी राखेको छ ।प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रूबेसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य पनि भइरहेको छ।

नेपाली सेनाले हवाईमार्फत आज प्रभावित इलाकाहरूबाट २० जनाको उद्धार गरिएको जनाइएको छ । हालसम्म हेलिकोप्टरमार्फत स्वदेशी र विदेशी गरी  ४ हजार ०४० जनाको उद्धार गरिएको पनि सेनाले जनाएको छ।

चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले ४ वटा ६/६ मिटर लम्बाइका ठुला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारिएको छ। स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म हेवी इक्विपमेन्ट लैजानको लागि सडकमा रहेको ठुलो ढुङ्गालाई ब्लाष्टिङ्ग गरी हटाउने कार्य भएको छ।

नुवाकोट जिल्ला, विदुर न.पा.-५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको ५५ जनाको टोलीद्वारा पुल निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ।