काठमाडौं, भदौ २४ :

रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद धितालले बाढीपछि होल्डिङ सेन्टरमा बस्नुपर्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा, र गोपनीयता गम्भीर जोखिममा परेको भन्दै स्रोत तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी हुन् । उनले उद्धार र राहतसँगै उनीहरूलाई सम्मानपूर्वक पुनः आफ्नै खुट्टामा उभिन सक्ने बनाउन दीर्घकालीन सामाजिक पुनस्र्थापनालाई तीव्रता दिन सरकारसँग माग गरिन् । 

विपद्का बेला महिलाहरूमाथि हिंसा, यौन शोषण, पानी र हेरचाहको अतिरिक्त बोझ थपिने भएकाले राहत व्यवस्थापनमा महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले बाढीका कारण दैनिक सेवन गर्नुपर्ने औषधि बगाएको, मृत चौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको तथा सञ्चार र विद्युत् अवरुद्ध हुँदा नागरिकहरू बाहिरी संसारबाट सम्पर्कविहीन रहेको अवस्था रहेको धारणा राखिन् ।