
उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।
अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पसको गेट अगाडी सडकमा नै खाना पकाएर विरोध जनाएका हुन् । उनीहरुले सडकमा नै खाना पकाएर सडकमा नै खाना खाएका थिए । सरकारले सहज रुपमा ग्यासको आपूर्ति गर्न नसकेपछि विद्यार्थीहरु समस्यमा परेको उनीहरुले जनाएका छन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव झेलिरहेको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न घरबेटीले नदिने र कोठाभित्र दाउरा बाल्ने विकल्प पनि नरहेको बताए ।
सरकार जनताका समस्याप्रति उदासीन रहेको, सुशासनको नारा केवल भ्रम मात्र भएको उहाको भनाइ छ । उहाले आवश्यकताभन्दा बढी ग्यास भित्रिँदा पनि बजारमा चरम अभाव सिर्जना गरी कृत्रिम मूल्यवृद्धि गरिएको र राज्यकै मिलेमतो रहेको आरोप लगाए ।