रसुवा, भदौ ३१ :

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शव फेला परेको छ । भोटेकोशी बाढीमा फसेकाहरुको खोजी गर्ने क्रममा बुधबार दिउँसो सुरुङभित्र दुईजनाको शव फेला परेको हो । भेटिका शवको सनाखत हुन सकेको छैन । त्यहाँ अझै केही शव रहेको आशंका गरिएको छ । सो आयोजनामा कार्यरत ६ जना सम्पर्कविहीन रहेको बताइएको छ ।

गत  भदौ १० गते बिहान आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा नेपाली सेनाको नेतृत्वको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । ढुंगामुडा र हिलो सुरुङभित्र पसेर पूर्णरुपमा टालिएको थियो ।  बाढीले बगाउँदा सयौं व्यक्तिको मृत्यु भएको छ भने त्यो भन्दा धेरै मानिसहरु सम्पर्कविहीन भएका छन् ।