काठमाडौं, असोज २ :

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा उत्साह पूर्वक सहभागी हुन पार्टीका क्रियाशिल सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ । समितिका सदस्य सचिव राजु कटुवालले आज विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्य प्रारम्भ गरिसकेको बताए ।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउने लगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साह पूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशिल सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।