
काठमाडौं, असोज ५ :
विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भन्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रचार प्रसार गरिए जस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल नगरेको समेत सचिवालयले स्पष्ट पारेको छ ।
विद्युतको भ्याट सन्दर्भमा अर्थमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राख्नुभएको धारणाअनुसार यस विषयको थप सहजीकरण र उपभोक्तालाई राहत दिने सन्दर्भमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले जनाएका छन् ।