
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।
बैठक बिहान नौ बजेबाट सुरु हुनेछ । ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने छन् । प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्ध र समसामयिक विषयमा धारणा राख्ने गरी समय छुट्टाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका नौ वटा एजेण्डा मध्ये आठवटाको कारबाही आजबाट सुरु हुनेछ ।
आजको बैठकमा केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, विभाग गठन, पोलिटव्यूरो, स्थायी कमिटी गठनका एजेण्डा पनि अघि बढाइने छ । यसैगरी, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासनका सम्बन्धमा बैठकले दृष्टिकोण बनाउने बताइएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयनपछि बैठकमा धारणा राख्ने क्रम सुरु हुनेछ ।
हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।