काठमाडौं, असोज ६ :

हिजो काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ।

उनको कीर्तिपुर अस्पताल बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा चालकको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनका अनुसार मृतकको नाम र ठेगाना भने खुल्न बाँकी छ । उनको आज बिहान मृत्यु भएको हो ।

हिजो मध्यान्न ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका थिए ।  उनको शरीरको भाग धेरै नै जलेको थियो ।

सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई गाडीबाट निकालेर कीर्तिपुर अस्पताल पुर्याएका थिए।

सुरुमा उनको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले चालक दावा लामा बताएको थियो । तर दावाले लाइसेन्सवाला दावा आफू भएको र सकुशल रहेको बताएपछि उनले लाइसेन्सको दुरुपयोग गरेको हुन सक्ने प्रहरीको आशंका गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले त्रिपुरेश्वर बस आगजनी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।  एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको समितिलाई पाँच दिनको समय दिइएको छ ।

बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुबीच विवाद भएको खुलेको छ । सामाजिक सन्जालमा सार्वजनिक वादविवादको एक भिडियो क्लिपमा चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भनेको सुनिन्छ । लगत्तै रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो ।