
भारी वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै कागेश्वरी मनोहरा नगरपालिकाले यही असोज ९ गतेदेखि ११ गतेसम्म नगरभित्रका सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाले एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानका कारण सम्भावित जोखिम घटाउन यो कदम चालिएको जनाएको छ।
नगरपालिकाका उपसचिव पुष्पराज ढकालद्वारा बिहीबार जारी सूचनाअनुसार, उक्त अवधिमा नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूमा नियमित पठनपाठन, अतिरिक्त कक्षा तथा अन्य सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा स्थगित गर्न निर्देशन दिइएको छ।
विपद्को जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले बिदाको समयमा आफ्ना बालबालिकाको विशेष ध्यान दिन, उनीहरूलाई घरमै सुरक्षित राख्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीहरूमा अपिलसमेत गरेको छ।