चितवन, असोज ८ :

पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ ८ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म चितवनको पृथ्वीराजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी रोकिएको बताए। निरन्तर वर्षात भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारीसाधन रोक लगाइएको उनले बताए । 

बिहानको अवस्था हेरेर थप सूचना गरिने उनको भनाइ छ । उनले भने, “बिहान ५ः०० बजे सवारी सञ्चालन गरिने भए पनि रातिमा पहिरो र निरन्तर बर्सात भयो भने अर्को सूचना जारी गर्ने छौँ ।”

यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा आज जारी सूचनामा यात्रु र सवारी चालकहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्णपालना गर्न आग्रह गरिएको छ ।