
नेकपा एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनलाई एकरूपताका साथ बुझ्ने र अध्ययन गर्ने जनाएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्षको प्रतिवेदनलाई एकरूपताका साथ बुझ्ने, अध्ययन गर्ने र तल्लो तहसम्म प्रभावकारी रूपमा सम्प्रेषण गर्ने विषयमा विशेष जोड दिइएको उपमहासचिव लेखराज भट्टले बताए ।
अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको नयाँ भाव पैदा गरेको उनले उल्लेख गरे । साथै बैठकले पार्टी एकतामा सामेल भएका तथा विभिन्न ठाउँबाट पार्टी प्रवेश गरेका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय समितिमा मनोनयन गर्ने विषयमा विस्तृत छलफल भएको उनले जानकारी दिए ।
उनले स्थायी कमिटीका सन्दर्भमा समेत केही खाका तयार गरी टुङ्गो लगाइएको र केन्द्रीय कमिटीको बैठकबाट औपचारिक निर्णय भएपछि मात्र नामहरू सार्वजनिक गरिने भट्टले बताए। त्यस्तै केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक परे सचिवालयलाई अधिकार प्रत्यायोजन गरेर बाँकी निर्णयहरू टुङ्ग्याइने समझदारी भएको उनको भनाइ छ ।