काठमाडौं, असोज ९ :

जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको योगफल बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० रन बनाए । त्यस्तै नजिबुल्लाह जाद्रानले ३० रन तथा  नङ्गेलिया खानले अविजित १७ रनको योगदान दिए ।  

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो । अफगानिस्तानको भने दोस्रो खेल हो । पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ।