
अविरल वर्षाका कारण मनोहरा नदीसहित आसपासका खोला तथा नदीमा पानीको बहाव उच्च भएको छ। बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरप्रहरीले प्रभावित क्षेत्रमा माइकिङ गरी स्थानीयवासीलाई सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
नदीमा पानीको सतह बढ्दै गएपछि किनार आसपास कटानसमेत सुरु भएको छ। नगरप्रहरीले नदी तथा खोला आसपासका क्षेत्रमा अनावश्यक रूपमा नजान र जोखिमयुक्त स्थानमा सावधानी अपनाउन आग्रह गरेको छ। सवारीसाधनलाई समेत सम्भावित जोखिम भएका मार्गको सट्टा वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ।
वडा नम्बर ५ स्थित माइतीनेपाल आसपासको सडकमा ढल ओभरफ्लो भएर पानी सडकमा निस्किएको छ। उक्त मार्गबाट आवतजावत नगर्न नगर प्रहरीले सर्वसाधारणलाई सूचित गरेको छ।
यसैगरी, खहरे खोलाको पानी सडकमा आउन थालेको छ। पानी निकास हुने मंगलसमेत छोपिएका कारण सडकमा पानी जमेको र सवारीसाधन सञ्चालन तथा पैदल हिँड्दा थप सावधानी अपनाउन नगरप्रहरीले आग्रह गरेको छ।
अविरल वर्षाका कारण उच्च जोखिममा रहेका क्षेत्रको पहिचान तथा नियमित अनुगमन भइरहेको नगरप्रहरीले जनाएको छ। हालसम्म वर्षाजन्य घटनाबाट कुनै मानवीय क्षति तथा निजी सम्पत्तिमा क्षति भएको विवरण प्राप्त नभएको जनाइएको छ।