
काठमाडौं, असोज ९ :
माथिल्लो त्रिशूली ३–ए जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।सैनिक अस्पतालबाट निवास फर्कने क्रममा स्थानीयले महर्जनलाई फूलमालाले स्वागत गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढी सुरुङभित्रै फसेका मेकानिकल सुपरभाइजर कविर महर्जनको १० दिनपछि उद्धार गरिएको थियो । महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जीवितै उद्धार गरेको थियो।
स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।आफूलाई नयाँ जीवन प्रदान गर्ने उद्धारकर्ताहरू र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति महर्जनले आभार व्यक्त गरेका छन् । महर्जनको परिवारमा खुसियाली छाएको छ । छरछिमेकी,इष्टमित्र उनलाई भेट्न निवासमा आएका छन् ।