गैँडाकोटमा नारायणी नदीको बहाव बढेपछि बस्ती डुबानमा परेको छ।
नारायणी नदीको बहाव बढेसँगै गैँडाकोट नगरपालिका–२ बोटेटोल डुबानमा परेको हो। आज बिहान नदीको पानी बस्तीमा पसेपछि करिब १ सय १० घर धुरीका ४ सय जना जोखिममा परेका थिए।
जोखिममा रहेका स्थानीयलाई प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी नजिकैको महेन्द्र आधारभूत विद्यालय तथा आफन्तका घरमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। घरमा रहेका सरसामान सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।
हालसम्म बाढीका कारण मानवीय तथा चौपाया क्षति भएको छैन।
अविरल वर्षाका कारण पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो खसेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा सिद्धार्थ होटलदेखि लुम्बिनी होटलसम्मको सडकखण्डमा माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। पहिरो खसेपछि प्रहरी टोली परिचालन गरी सडकमा थुप्रिएको पहिरो हटाइएको थियो। आज बिहान ४ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी अनिल पण्डितले जनाएका छन् । हाल सवारीको चाप नरहेको र राजमार्गलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए।