
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छाडेको छ। जबरालाई आफन्तीको जिम्मा लगाएर प्रहरीले पठाएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले सुरक्षित ठाउँमा पठाएको बताएका हुन् ।
‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएनन् । अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति ३ बजे महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।
यसैबीच जबरालाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोली भेट्न नपाएपछि फर्किएको छ । करिब ४५ मिनेट कुर्दा पनि भेट्न नपाएपछि आयोगको टोली फर्किएको हो ।
कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि व्यापक प्रश्न उठाइरहँदा जबरालाई छाडिएको छ । तत्काल उनलाई छाडे पनि पक्राउ गर्नुको कारणले भने प्रश्न उब्जाएको छ । प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको दाबी गर्दै आएको छ ।