काठमाडौं, असोज ११ :

नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा माग गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गरी सरकारले कानुनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।

पूर्व प्रधान न्यायाधीश जबराको गिरफ्तारीका सम्बन्धमा सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी धारणा सार्वजानिक हुनु गम्भीर चिन्ताको विषय उल्लेख गर्दै वक्तव्यमा गिरफ्तारी कानुन सम्मत र उचित थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजानिक गर्नु पर्नेमा जोड दिइएको छ ।

कांग्रेस अपराधको अनुसन्धान र कानूनको कार्यान्वयनको विपक्षमा नभएको तर कानुन कार्यान्वयनको नाममा अस्पष्ट र अन्यौलपूर्ण कानुनी प्रकृया देखिएको अवस्थालाई स्विकार गर्न नसकिने उल्लेख गरेको छ ।

गिरफ्तारी स्वयं दोषको प्रमाण नहुँने भन्दै प्रवक्ता चालिसे कसैले कानुनको उलंघन गरेको छ भने निष्पक्ष अनुसन्धान होस, प्रमाणका आधारमा कारबाही होस् र दोषी ठहरिए कानुन बमोजिम सजाय होस् भनेका छन्।