काठमाडौं, असोज ११ :

नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पक्राउ गरिएको घटनाको विरोध जनाएको छ। 

बारका प्रवक्ता एवं महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले जबराको गिरफ्तारी संविधान र कानुनी शासनको विपरीत स्वेच्छाचारी भएको बताएका छन् । कोइरालाले भने,‘सुरक्षा थ्रेटका नाममा गरिएको गिरफ्तारी स्वेच्छाचारी हो। नेपाल बार  यस्ता स्वेच्छाचारी गिरफ्तारीको विरोध गर्दछ।’

प्रहरीले जबरालाई जेन्जीबाट सुरक्षा थ्रेट भएकाले नियन्त्रणमा लिएको दाबी गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित निवासबाट राति ३ बजे जबरालाई नियन्त्रणमा लिएकोमा १२ घण्टापछि आज दिउँसो परिवारको जिम्मा लगाएर छाडेको छ । उनलाई जे जस्तो भनेर नियन्त्रणमा लिएर छाडे पनि त्यसले संविधान र कानुनी प्रश्न खडा गरेको छ ।

सरकारविरुद्ध चलखेल गरेको आशंकामा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जबराको बारम्बारको भेटवार्तालाई सरकारले सूक्ष्म रुपमा नियाल्दै आएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई  स्वदेश फर्किएका प्रधानमन्त्री शाहले अन्य निकायलाई सुईको नदिई सिधै प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय मार्फत जबरालाई राति नै नियन्त्रणमा लिएर चलखेलका विषयमा सोधपुछ भएको बुझिएको छ ।

यसैबीच,पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबारे बुझ्न पुग्दा प्रहरीले गरेको व्यवहारप्रति राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ । टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा अनुगमनका लागि पुगेको आयोगको टोलीलाई भेट्न नदिई फर्काइएको थियो। करिब ४५ मिनेटसम्म पनि गेटमै बसेर कुर्दा पनि जबरालाई भेट्न नदिएको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी उल्लेख छ ।