म्याग्दी, असोज ११ :

म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको छ भने तीन जना बेपत्ता भएका छन् । अन्नपूूर्ण गाउँपालिकामा चार जना र मालिका गाउँपालिकामा दुई जनाको शव भेटिएको छ ।

 म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनी नगरपालिकामा एक जना र अन्नपूर्ण गाउँपालिकामा दुई जना बेपत्ता भएका बताए। पहिरोमा पुुरिएका अन्नपूर्ण गाउँपालिका–५ गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा, ५६ वर्षीया दोमाया गर्बुजा र पाँच वर्षीया जेनी पुुनको शव भेटिएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार मालिका गाउँपालिका–३ औलामा किरन पुन र देव बहादुर पुनको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

अन्नपूूर्ण गाउँपालिका–८ काफलडाडाका १९ वर्षीय सविन चोचाङ्गीको शव भेटिएको र २२ वर्षीय मनोज गर्बुजा बेपत्ता रहेका म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए । उनका अनुसार पहिरोमा परि बेपत्ता भएका बेनी नगरपालिका–३ भकिम्ली छेपारेका ३६ वर्षीया कुमारी वली विक र अन्नपूर्ण गाउँपालिका–३ फगामकी युमाया पाईजा बेपत्ता भएका छन् ।

पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका ७८ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत शिखघारमा ल्याएर सुरक्षित ठाउँमा बसोबासको ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । अस्थायी शिवरमा राहत सामग्रीको पनि व्यवस्था मिलाइएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्र भएका, विद्युत, सञ्चार, सडक अवरुद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुन, सुरक्षाकर्मी पुग्न, उद्दार, बेपत्ताको खोजीमा ढिलाई भएको प्रजिअ गैरेले बताए ।

चार दिनको लगातारको झरिका कारण बाढी पहिरोले म्याग्दीमा विद्युत, सडक र सञ्चार सुविधा अवरुद्ध बनेको छ । बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् । पर्वतको मालढुङ्गा स्थित कालीगण्डकी नदीमा रहेको सडक पुलको पहुँचमार्ग, सहश्रधारामा सडक कटान भएकाले म्याग्दी, बागलुङ र मुस्ताङको पोखरा–काठमाडौ लगायत सहरसँग यातायात सम्पर्क बिच्छेद भएको छ । आज दिउँसोदेखि वर्षा रोकिएको र नदीहरुमा बाढीको सतह घटेको बताउँदै प्रजिअ गैरेले सडक, विद्युत र सञ्चार सुविधा सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए ।