काठमाडौं, असोज १२ :

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले दशैं, तिहार, छठ लगायतका चाडपर्वमा यात्रुको चाप अनुसार पर्याप्त सवारी साधन व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो । निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्ने, तोकिएको स्थानबाट टिकट बिक्री गर्ने तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए ।

बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका–मैत्री सेवा, यात्रु सहायता कक्ष तथा आवश्यक सहजीकरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ भने सडकको अवस्था र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गर्ने, वैकल्पिक मार्गको तयारी राख्ने, सवारी साधनको प्राविधिक परीक्षण गर्ने, चालकको पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको सभापति गजुरेलले बताए ।

यात्रुले टिकट नपाउने, तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने, अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था आउन नदिन सहज टिकट उपलब्धता, भाडादरको प्रभावकारी कार्यान्वयन र बलियो गुनासो सुनुवाइ व्यवस्थासहितको कार्ययोजना तत्काल तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको उहाले जानकारी दिए ।

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बीपी राजमार्गलाई १० दिनभित्र वैकल्पिक ट्रयाक खोलेर वा अन्य विधिबाट सुचारु गरिने स्पष्ट पारे । चाडपर्वका लागि गाडीको प्रि–बुकिङ, अनलाइन बुकिङ तथा नियमित अनुगमनको व्यवस्था मिलाइने उहाले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले चाडपर्वका समयमा देखिएको गरेको यातायात व्यवस्थापनलाई समाधानका लागि गम्भीर हुन ध्यानाकर्षण गराएका थिए ।