काठमाडौं, असोज १२ :

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका कारण क्षतविक्षत भएका सडकहरू चाडपर्वका समयमा अस्थायी रूपमै भए पनि सञ्चालन योग्य बनाउन आग्रह गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको पूर्वाधार बिकास समिति बैठकमा अध्यक्ष सिटौलाले विगत दुई वर्षदेखि प्राकृतिक प्रकोपका कारण सडक तालिका बिग्रिएको र यसपटक बाढीपहिरोका कारण सडकहरू क्षतविक्षत भएको उल्लेख गरे । चाडपर्वका लागि आगामी १५–२० दिन अस्थायी रूपमै भए पनि खाल्डाखुल्डी पुरे सम्बद्ध सबै पक्ष मिलेर सडक सञ्चालनयोग्य बनाउन उनले आग्रह गरे ।

उनले अग्रिम टिकट बुकिङ खोल्नु मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउनु मुख्य चुनौती भएको धारणा राखे। नयाँ बसपार्क तथा सरकारले तोकेका आधिकारिक काउन्टरबाट मात्र परिचयपत्र र ड्रेस लगाएका कर्मचारीमार्फत टिकट काट्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए । अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि चाडपर्वको अवधिभर पेट्रोलियम पदार्थको मूल्य नबढाउन र घाटा भए सरकारले नै बेहोर्न आग्रह गरे । इन्धनको मूल्य नबढेमा व्यवसायीहरूले कुनै पनि हालतमा भाडा नबढाउने उनले स्पष्ट पारे।

उनले घटस्थापनादेखि टीकाको समयमा यात्रुको अत्यधिक चाप हुने भएकाले काठमाडौं उपत्यकाका राम्रा गाडीहरूलाई पनि बाहिर चलाउन अनुमति दिने व्यवस्था मिलाउनुपर्ने धारणा राखे।

चाडपर्वको मुख्य समयमा मालवाहक ठूला सवारी साधनलाई नारायणगढ लगायतका स्थानमा रोकेर यात्रुवाहक बसलाई पहिलो प्राथमिकता दिनुपर्ने विगतको अभ्यास लागु गर्न उनले आग्रह गरे ।