
काठमाडौं, असोज १२ :
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबारको बैठकमा ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गरिएको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्ति भन्दै आपत्ति जनाए ।
ढुंगानाले कानुनी शासन उपहास भइरहेकोप्रति प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे । हिजो पञ्चायतकालमा जसरी बिना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक विषय भएको उनले बताए ।
सरकारले सुशासनको नारा दिएर व्यवहारमा भने हुकुमी शासन लाद्न खोजेको ढुंगानाको जिकिर छ । बहुमतको घमण्ड छाडेर सरकारलाई सच्चिन आग्रह पनि उनले गरे ।