
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणीमा बगेर सुस्ता पुगेको छ । अन्दाजी पाँच वर्षको गैँडा नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका-४ मा आज बिहान देखिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएलगत्तै गैँडाको निगरानीको काम थालिएको बताए । उनले भने, “गैँडाको रेकी भइरहेको छ । उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ ।” गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने जनाउँदै उनले सुस्ता नवलपरासीमा पर्ने भएकाले त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बताए ।
नारायणी नदीमा शनिबार र आइतबार ठूलो बाढी आउँदा नदी तटीय क्षेत्रबाट गैँडा बगाएको हो । नदीले बगाएर अन्य गैँडासहित वन्यजन्तु भारत पुर्याएको हुन सक्ने सूचना अधिकारी थापामगरले अनुमान गरे । यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा ठूलो बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमिमा पुगेका थिए । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कडेँलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो ।
भारतको बाल्मिकी टाइगर रिजर्भका अधिकारीहरूसँगको पुरानो चिनजानका कारणले गैँडा ल्याउने काममा भारतका तर्फबाट सहजीकरण भएको उनले बताए । यस वर्षको बाढी ठूलो भएकाले भारतसम्म गैँडा पुगेको हुन सक्ने आकलन गरिएको छ ।
यस वर्ष शनिबार र आइतबारको बाढीमा राप्ती नदीको मेघौली, खैरहनीलगायत क्षेत्रमा बगेका गैँडा आफैँ उत्रिएका निकुञ्जले जनाएको छ । एउटा मृगलाई भरतपुर महानगरपालिका-१७ शिसुवारबाट उद्धार गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ । नारायणी नदीमा पहिलेको भन्दा ठूलो बाढी आएको र गैँडाको सङ्ख्या बढ्दो भएकाले बाढीले थप बगाएको हुन सक्ने अनुमान गरिएको हो ।