
काठमाडौं, असोज १२ :
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा दुलालले के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ भन्दै सरकारलाई प्रश्न गरे। उनले विपत्तिको समयमा नागरिकलाई राहत दिनुको साटो सरकारको ध्यान अन्यत्र केन्द्रित भएको बताए।
उनले देशका विभिन्न भागमा अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरे । पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै १२ घण्टा नबित्दैको रिहा गरिनु ‘बहुलाठीपूर्ण पागलपन’ भन्दै टिप्पणी गरे। दुलालले कानुनी राज्यको उपहास भएको जनाउँदै सरकारलाई संवैधानिक र कानुनी बाटोबाट देश सञ्चालन गर्न पुनः सचेत गराए।