
नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेकाले नियमित विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बाढीका कारण आकस्मिक रुपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरु सञ्चालनमा आइसकेको र टावरमा क्षति पुगेका कारण अवरुद्ध उत्पादन केन्द्रहरु सञ्चालनमा आउन केही समय लाग्ने समेत जनाएको छ ।
बर्षापछिको बाढीका कारण राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको तथा टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।
त्यस्तै कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा कुल १९० मेगावाटका ७ वटा जलविद्युत केन्द्रहरूको उत्पादन अवरुद्ध भएको र राहुघाट सबस्टेसनमा जोडिएका आयोजनाहरूमध्ये ४० मेगावाटको राहुघाट बाहेक १२७ मेगावाटका अन्य आयोजनाहरू पुनः सञ्चालनमा आउने अवस्थामा रहेको उनले बताए ।
उनले कालीगण्डकी कोरिडोरको २२० केभी लाइन अन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण रहेको जानकारी दिए । अविरल वर्षाका कारण वितरण संरचना तथा टावरहरू ढल्दा र १ हजार मेगावाटभन्दा बढी उत्पादन प्रणालीबाट बाहिरिँदा आइतबार दिनभर असहज परिस्थिति बनेको समेत श्रेष्ठले उल्लेख गए ।
त्यस्तै कार्यकारी निर्देशक श्रेष्ठले भदौ १० गतेको बाढीले माथिल्लो त्रिशूली थ्री–बी २२० केभी हब तथा विभिन्न केन्द्रहरूमा क्षति पु¥याउँदा ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिरिएको र करिब १४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको बताए ।
उहाले हालको जडित क्षमता ३,७३९ दशमलव ४० मेगावाट रहेकोमा सुक्खा याममा थप ३२० मेगावाट गरि मंसिरसम्म करिब ४,०६० मेगावाट पुग्ने प्रक्षेपण रहेको जानकारी दिए । सुक्खा याममा करिब १,२१८ मेगावाट मात्र आन्तरिक उत्पादन रहने भएकाले करिब १,१५४ मेगावाट विद्युत आयात गरी माग व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ । अघिल्लो वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत माग २२९२ रहेको समेत प्राधिकरणले जानकारी दिएको छ ।