असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवको नारायणगढ नजिकको नदी किनारमा ठूलो क्षति पुगेको छ ।
बाढीका कारण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको नारायणी नदीको किनार पुर्ण रूपमा क्षति भएको छ । साँझपख मानिसको निकै चहल पहल रहने नारायणी नदीको किनार बाढीले बगरमा परिणत भएको छ । बाढीले नारायणगढको लिलाचोक तलदेखि पुलचोकसम्म क्षति पुर्याएको छ ।
असोज ११ गते नारायणी नदीमा हालसम्म कै उच्च ११ दशमलव ९ मिटर पानीको बहाव आएको जलमापन केन्द्रले जनाएको छ । उक्त बाढीले नारायणगढमा रहेको नदी किनार नराम्रोसंग बिगारेको र हालसम्म यति धेरै पानी नारायणी नदीमा नदेखेको २०१९ साल देखि नारायणगढमा बसोबास गर्दै आएका स्थानीय प्रभात कुमार जोशीले बताए ।
नारायणी नदी किनारको यो अबस्था प्रकृतिमाथिको खेलवाड र मानिसले हारेको नजिता भएको जोशीले बताए । नारायणी नदी किनार विकासको नाममा धेरै खर्च भएपनि आगामी दिनमा विकास निर्माणको काम गर्दा दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने स्थानीयहरुले जनाएका छन् ।