बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति भिडियो

महाधिवेशन प्रतिनिधिलाई सभापति थापाले भने- यो पटक म तपाईँहरुलाई विश्राम गर्न दिनेवाला छैन

मतदान नगर्नेको घरघरमा पुग्छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
महाधिवेशन प्रतिनिधिलाई सभापति थापाले भने- यो पटक म तपाईँहरुलाई विश्राम गर्न दिनेवाला छैन
काठमाडौं, असोज २१ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम रहेको गुटगत विभाजन अब अन्त्य भएको घोषणा गरेका छन्। १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले अधिवेशन प्रक्रिया सकिएसँगै पार्टीभित्र रहेका विभिन्न समूह र गुटको राजनीतिक अभ्यास समाप्त भएको बताएका हुन्।

थापाले कांग्रेसभित्र विगतमा देखिएका ‘७४–३६’, देउवा समूह, कोइराला समूह र पौडेल समूहलगायतका औपचारिक गुटगत विभाजन अब नरहेको बताए। महाधिवेशनमा कसैले जिते पनि, हारे पनि, मत दिए पनि वा नदिए पनि अब सबै नेता–कार्यकर्ता एउटै परिवारको भावनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘महाधिवेशन सकिएपछि सबै कुरा सकिन्छ,’ थापाले भने, ‘जित्ने, हार्ने, मत हाल्ने वा नहाल्ने सबै साथीहरू एकअर्काप्रति प्रेम र परिवारको भावना बोकेर पार्टीलाई अप्ठ्यारो अवस्थाबाट बाहिर निकाल्ने संकल्पका साथ फर्किनुपर्छ।’

सभापति थापाले पार्टीका कमजोरी स्वीकार गर्दै त्यसलाई सच्याउने प्रतिबद्धता जनाए। कांग्रेसलाई मत नदिएका नागरिकको घरदैलोसम्म पुगेर पार्टीप्रति विश्वास जगाउनुपर्ने उनको भनाइ थियो।

‘हामीलाई मत नदिनेहरूको घरघरमा पुग्छौँ,’ थापाले भने, ‘युवाहरूलाई आजका समस्या समाधान गर्ने क्षमता कांग्रेससँग छ भन्ने विश्वास दिलाउनुपर्छ।’

उनले महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशन सकिएपछि विश्राम नगर्नसमेत आग्रह गरे। आगामी स्थानीय निर्वाचनसम्म कम्तीमा छ महिना दिनरात नभनी पार्टीले तयार पारेको कामको सूचीअनुसार खटिनुपर्ने उनले बताए।

थापाले पार्टी जीवनमा योगदान गरेका कतिपय अग्रज नेता १५औँ महाधिवेशनको मञ्चमा उपस्थित नहुँदा आफूलाई नमिठो लागेको पनि बताए। उनले निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेस निर्माणमा गरेको योगदान र राजनीतिक संघर्षको स्मरण गरे।

पार्टीलाई नयाँ ढंगले अघि बढाउन विगतका योगदानको सम्मान गर्दै आगामी दिनका चुनौती सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा थापाले जोड दिए। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको ध्यान अब संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार