नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले केहीबेरमा मतदान हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका रहे पनि प्राविधिक कारणले मतदान दिउँसो १ बजेलाई सारिएको हो ।
निर्वाचन समितिले प्रतिनिधिहरूलाई मतदान सुरु हुनुअघि नै लाइनमा नबस्न आग्रह गरेको छ। प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
मतदानस्थलमा मोबाइल फोन लैजान निषेध गरिएको छ। मतदान सकिएपछि मतगणना सुरु गरिने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। १५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।
मतदान केन्द्र र प्रतिनिधि समूह
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’
– बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’
– कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाल हल
– गण्डकी प्रदेश
तराई–मधेस हल
– मधेस प्रदेश
पहाड हल
– लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिलाई व्यवस्था गरिएको छ ।