नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन समितिले मतदानको नयाँ समय शुक्रबार बिहान ७ बजेका लागि तोकेको छ।
यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटकसम्म सार्दै दिउँसो साढे २ बजेसम्मका लागि तोकिएको थियो। निर्धारित समयमा पनि मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले भोलि बिहानबाट मतदान सुरु गर्ने निर्णय गरेको हो।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।
निर्वाचन सामग्री छापाखानाबाट आउन ढिलाइ भएकाले मतदानको समय सार्नुपरेको निर्वाचन समितिले जनाएको छ। यद्यपि मतदानको समय पटकपटक सारिनुमा महाधिवेशनभित्रको आन्तरिक विवादसमेत कारक रहेको बताइएको छ। निर्वाचन समितिले भने यसलाई प्राविधिक कारणका रूपमा प्रस्तुत गर्दै आएको छ।
निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने निर्णय भएको नेता उमेश श्रेष्ठले जानकारी दिए।
मतदानको समय पटकपटक परिवर्तन भएपछि महाधिवेशन प्रतिनिधिहरू अन्योलमा परेका छन्। नयाँ कार्यतालिकाअनुसार शुक्रबार बिहान मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको नेतृत्व चयनका लागि २ सय ९७ पदका लागि ८ सय ५० जनाले मनोनयन दर्ता गरेका छन् ।