काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा करिब ३५ करोड ३९ लाख रुपैयाँको लागतमा ‘भैमाल-गोठाटार सहलगानी खानेपानी आयोजना (प्याकेज–३)’ निर्माण हुने भएको छ। यस आयोजनाबाट नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ का हजारौँ घरधुरी लाभान्वित हुनेछन्।
आयोजना कार्यान्वयनका लागि नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुर, कागेश्वरी मनोहरा नगरपालिका र गोठाटार भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबीच सोमबार वित्तीय सम्झौता सम्पन्न भएको छ।
वित्तीय सम्झौतापत्रमा नगर प्रमुख उपेन्द्र कार्की, खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्याय र गोठाटार भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनोहर चापागाईंले हस्ताक्षर गरेका छन्।
भैमाल–गोठाटार क्षेत्रका बासिन्दालाई स्वच्छ, सुरक्षित र सहज खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको यस आयोजनाको कुल अनुमानित लागत ३५ करोड ३९ लाख २१ हजार ६ सय ८२ रुपैयाँ रहेको छ। कुल लागतको ८० प्रतिशत अर्थात् ३० करोड ८ लाख ३३ हजार ४ सय ३० रुपैयाँ नेपाल सरकारले व्यहोर्नेछ भने बाँकी २० प्रतिशत अर्थात् ५ करोड ३० लाख ८८ हजार २५२ रुपैयाँ उपभोक्ता समिति तथा स्थानीय तहबाट जुटाइनेछ।
आयोजनाबाट हाल ८ हजार २ सय ७३ घरधुरीका ४० हजार ४ सय ५ जनसङ्ख्यालाई खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। त्यस्तै, सन् २०४२ सम्ममा १२ हजार ७ सय ९० घरधुरीका ६२ हजार ४ सय ६५ जनसङ्ख्यालाई सेवा पुर्याउने लक्ष्य छ। २० वर्षको डिजाइन अवधिमा आधारित आयोजनाको निर्माण आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरी आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने योजना छ।
सम्झौताअनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजनाका लागि आवश्यक प्राविधिक सहयोग, सुपरिवेक्षण र अनुगमन गर्नेछ। त्यस्तै, आयोजना व्यवस्थापन कार्यालयले परामर्शदाता छनोट, ठेक्कापट्टा सहजीकरण तथा निर्माण कार्यको रेखदेख गर्नेछ।
नगर प्रमुख उपेन्द्र कार्कीको कार्यकालमा नगरपालिकामा खानेपानीसँगै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई पनि प्राथमिकता दिइएको छ। खानेपानी पूर्वाधार विस्तार तथा सेवा पहुँच वृद्धि गर्ने लक्ष्यसहित अघि बढाइएको यस आयोजनालाई नगरवासीको आधारभूत आवश्यकता पूर्ति गर्ने महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको छ।