सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार प्रदेश बागमती प्रदेश

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ कात्तिक, २०८३ मा प्रकाशित
चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह
भक्तपुर, कात्तिक २८ :

नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा आजदेखि ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ ।

सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा नमुना फाउन्डेसन भक्तपुरले कमलविनायकस्थित भोकेसनल एकेडेमीमा आयोजना गरेको महोत्सवको विभिन्न सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले अवलोकन गरेका छन् ।

महोत्सवबारे जानकारी दिँदै नमुना फाउन्डेसनका संस्थापक रवीन्द्र पुरीले सन् २००३ देखि सुरु गरेको सम्पदा संरक्षण अभियानलाई निरन्तरता दिँदै चोरी भएका तथा विदेश पुर्‍याइएका मूर्ति फिर्ता ल्याउन नागरिक र सम्बन्धित निकायलाई सचेत गराउँदै आएको बताए ।

‘ब्रिङ मी होम’ यही जनचेतनामूलक अभियानको हिस्सा भएको उल्लेख गर्दै उनले सन् २००३ मा एक्लै सुरु गरेको अभियानमा अहिले सहकार्य गर्ने टोली विस्तार हुँदै गएको बताए । सम्पदा चोरी तथा अवैध कारोबारको जोखिमबारे जनचेतना फैलाउन र संरक्षणका पक्षमा आवाज उठाउन फाउन्डेसनले प्रत्येक वर्ष यो दिवस मनाउँदै आएको उहाँको भनाइ थियो ।

विशेषगरी युवा पुस्तालाई सम्पदा चोरी, त्यसको अनुसन्धान, फिर्ती र सम्बन्धित समुदायसँग पुनःस्थापनासम्मको प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारी पनि अभियानमा जोडिनुभएको उनले जानकारी दिए ।

कार्यक्रममा अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले सम्पदाको कलात्मक मूल्यसँगै त्यसको आध्यात्मिक महत्त्व पनि उत्तिकै रहेको बताए । उनले अस्ट्रेलियाका आदिवासी समुदायबाट लगिएका सांस्कृतिक सामग्री र मानव अवशेषसमेत विदेशका संग्रहालयमा रहेको उल्लेख गरे ।

इजरायलका राजदूत श्मुलिक एरी बासले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै चोरी भएका नेपाली सम्पदाबारे कुनै जानकारी प्राप्त भए आफूलाई अवगत गराउन आग्रह गरे ।

अस्ट्रेलियाकी पूर्वराजदूत फेलिसिटी भोल्कले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै फिर्ता ल्याइएका सम्पदाको संरक्षणमा देखिने चुनौतीलाई पनि राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए।

नर्वेकी राजदूत डाग्नी म्योसले अभियानलाई प्रशंसनीय पहल भन्दै सम्पदा अपराधबारे सम्बन्धित निकायलाई समेत सचेत गराउनुपर्ने बताए । अभियानले नागरिकमा चेतना बढाउनुका साथै अन्य सरोकारवालालाई पनि सक्रिय हुन प्रेरित गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटले सन् १९७० को महासन्धिले सम्पदा संरक्षण, अवैध व्यापार नियन्त्रण र चोरी भएका वस्तु उत्पत्तिस्थलमा फिर्ता गर्ने विषयमा देशहरूबीच सहकार्यको साझा आधार उपलब्ध गराएको बताए । उनले सम्पदा फिर्तीका लागि दाबी तथा सूचनाको शीघ्र पहिचान र सम्बन्धित निकायसम्म सम्प्रेषण गर्न दूतावासहरूले सम्पर्क व्यक्ति तोक्नुपर्नेमा जोड दिए । सम्पदा फिर्तीको विषय समुदायको पहिचान, जीवन र आस्थासँग जोडिएको उनको भनाइ थियो ।

कार्यक्रम संयोजक श्रीना नेपालले पर्याप्त प्रमाण जुटाउँदा पनि आस्थासँग जोडिएका सम्पदा स्वदेश फर्काउनु चुनौतीपूर्ण हुने बताइन् । संग्रहालयले कुनै वस्तुको प्राप्तिको इतिहासलाई सामान्य देखाउन सक्ने भए पनि मूल समुदायका लागि ती वस्तु आज पनि आफ्ना देवता र आस्थाका प्रतीक रहेको बुझ्नुपर्ने उनले बताइन् । नमुना फाउन्डेसनको उद्देश्य देवमूर्तिलाई राष्ट्रिय सङ्ग्रहालयमा मात्र ल्याउनु नभई सम्बन्धित समुदायकै जिम्मा लगाउनु रहेको उनको भनाइ थियो ।

महोत्सव नोभेम्बर १४ देखि २१ सम्म नेपाल भोकेशनल एकेडेमीमा सञ्चालन हुनेछ। महोत्सवमा ढुङ्गा तथा काठमा मूर्ति कुँद्ने कलाकारको प्रत्यक्ष प्रस्तुति, वृत्तचित्र प्रदर्शन, सम्पदा घरफिर्तीसम्बन्धी विशेष प्रस्तुति, अन्तरक्रियात्मक गतिविधि तथा चोरी भएका सम्पदाका प्रतिकृति प्रदर्शन गरिने संस्थापक पुरीले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार