म्याग्दी, कात्तिक १० :

गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारातमानेमा तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ ।

स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कन अनुसार सबैभन्दा बढी क्षति गौश्वारातमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो ।

बेनी- २ का वडा सदस्य चन्द्रकान्त रिजालले दिएको जानकारी अनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पुर्याएको छ । असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिक सहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न खेतमा पुगेका थियो ।

असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटको गौश्वारामा भएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । 

असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति भएपछि किसान चिन्तित बनेका बेनी- २ का वडा सदस्य रिजालले बताउनुभयो । 

असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान शन्तबहादुर नेपालीले बताउनुभयो ।

भित्र्याउने समयमा पानीले क्षति पुर्याएपछि किसानहरू चिन्तित भएको बेनी नगरपालिका- २ सानालेखका नारायण शर्माले बताउनुभयो ।