काठमाडौं, कात्तिक २९ :
राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाएका छन्।
प्रथम महिला सविता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर नजिकै रहेको गौरीघाटको छठ पूजास्थलमा पुगेका राष्ट्रपति पौडेलले छठी माताको पूजाअर्चना गर्नुका साथै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन्।
राष्ट्रपति पौडेल गौरीघाटस्थित पूजास्थल पुग्दा सांसदद्वय विष्णुदेवी पुडासैनी र पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए। छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्पराअनुसार राष्ट्रपति पौडेलले समेत पूजाअर्चना गरेका हुन्।