नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘राजमाता’लाई २०८२ सालको कविडाँडा आख्यान पुरस्कार प्रदान गरिएको छ। लेखिका निहारिकालाई शुक्रबार एक समारोहबीच उक्त पुरस्कार हस्तान्तरण गरिएको हो।
पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ। आख्यान विधाअन्तर्गत कथा तथा उपन्यास कृतिका लागि प्रदान गरिने यो पुरस्कारको राशि नेपालमै सर्वाधिक रहेको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले दाबी गरेका छन्।
अध्यक्ष क्षेत्रीका अनुसार समाजले वर्षभरि प्रकाशित आख्यान कृतिहरूमध्ये उत्कृष्ट कृति छनोट गरी प्रत्येक वर्ष एक कृतिलाई पुरस्कृत गर्दै आएको छ। गत वर्ष प्रकाशित उत्कृष्ट आख्यानमध्ये ‘राजमाता’लाई पुरस्कार प्रदान गर्ने असोज ७ गते नै निर्णय गरिएको थियो।
चितवनको भरतपुरमा २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले २०७५ सालदेखि हरेक वर्ष आख्यान पुरस्कार प्रदान गर्दै आएको छ। नेपाली आख्यान साहित्यको प्रवर्द्धन तथा उत्कृष्ट सिर्जनालाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरेको समाजले जनाएको छ ।