कागेश्वरी मनोहरा नगरपालिका र जापानको यामानाशी प्रिफेक्चरस्थित ओत्सुकी सिटीबीच शिक्षा, स्वास्थ्य, सीप विकास तथा रोजगारीका क्षेत्रमा सहकार्य गर्ने महत्वपूर्ण सहमति भएको छ।
दुई नगरबीच स्थापित भगिनी सम्बन्धलाई थप सुदृढ बनाउँदै स्थानीय युवालाई अन्तर्राष्ट्रिय रोजगारीका अवसरसँग जोड्ने र नगरपालिकाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने उद्देश्यसहित सहकार्य अघि बढाइएको हो।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापासहितको प्रतिनिधिमण्डलको चारदिने (नोभेम्बर १४ देखि १७) सम्मको जापान भ्रमणका क्रममा उक्त सहमति भएको हो। नेपाल–जापान मैत्री समाजको पहलमा अघि बढेको भगिनी सम्बन्धलाई थप संस्थागत गर्दै आपसी मित्रता, सद्भाव र द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यले भ्रमण गरिएको नगरपालिकाले जनाएको छ।
सहमति अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका युवालाई जापानी भाषा, संस्कृति र सीपमा आधारित व्यावहारिक तालिम प्रदान गरिनेछ। त्यसैगरी, नगरपालिकाको स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले नगर अस्पतालको विकास, सेवा विस्तार तथा आवश्यक प्राविधिक र अन्य सहयोगका विषयमा दीर्घकालीन सहकार्य गर्ने समझदारीसमेत भएको छ।
दुई नगरबीचको सहकार्य शिक्षा, स्वास्थ्य र रोजगारीमा मात्र सीमित नरहने जनाइएको छ। पर्यटन, कृषि, संस्कृति, प्रविधि तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा समेत ज्ञान, सीप र अनुभव आदानप्रदान गर्दै साझेदारीका नयाँ सम्भावना खोजिनेछ। यसबाट युवाको क्षमता अभिवृद्धि गर्नुका साथै जापानमा अध्ययन तथा रोजगारीका अवसर प्राप्त गर्न आवश्यक सहजीकरण र सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि सन् २०२४ सेप्टेम्बर ४ मा कागेश्वरी मनोहरा नगरपालिकामा दुई पक्षबीच पहिलो औपचारिक बैठक भएको थियो। त्यसपछि सन् २०२५ नोभेम्बर १० मा ओत्सुकी सिटीका नगर प्रमुख नोबुयासुसहितको प्रतिनिधिमण्डलले कागेश्वरी मनोहरा नगरपालिकाको भ्रमण गरेको थियो।