नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय भेलाको तयारी, एजेन्डा र आगामी निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल भइरहेको छ। बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै भोलि आयोजना गर्न लागेको राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन गर्ने छ।
पार्टीका नेताहरूका अनुसार बैठकले मंसिर २ गते आयोजना हुने राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन गर्नेछ। स्थानीय तहको निर्वाचनमा पार्टीको स्थिति मजबुत बनाउने रणनीतिसहित एमालेले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।
प्रतिनिधिसभा निर्वाचनमा व्यहोर्नुपरेको पराजयको जवाफ आगामी स्थानीय तहको निर्वाचनबाट दिने रणनीतिमा एमाले रहेको छ। त्यसैले पार्टीले स्थानीय तहको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउँदै संगठन सुदृढीकरण र चुनावी रणनीतिलाई प्राथमिकतामा राखेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा नेतृ विद्या भण्डारीसहित स्थायी कमिटीका सदस्यहरू सहभागी छन्।