नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्गको ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो तीन हजार ४५४ मिटरको महादेवटार सुरुङमार्गको दुवैतर्फका सुरुङ जोड्ने (ब्रेकथ्रु) कार्यक्रममा आज आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिए ।
राष्ट्रिय गौरवको यस रणनीतिक महत्त्वको आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पाएपछि निर्माण कार्यलाई तीव्रता दिइएको उनले बताए ।
उनका अनुसार विगतमा विभिन्न चरणमा निर्माण प्रभावित भए पनि अहिले ललितपुरको खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी केही समस्या बाँकी छन् । उक्त ६.५ किलोमिटर खण्डको समस्या समाधानका लागि पहल भइरहेको र समाधान भएपछि ठेक्का व्यवस्थापनको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेकाले आगामी दिनमा थप प्रगति हासिल हुने आयोजना प्रमुख श्रेष्ठको भनाइ थियो ।
नेपाली सेनाका अनुसार आयोजनाअन्तर्गत सात स्थानमा निर्माण भइरहेका १४ वटा सुरुङमध्ये धेद्रे, लेनडाँडा र महादेवटारका छवटा सुरुङ खन्ने काम सम्पन्न भएको छ । अन्य चार स्थानका आठवटा सुरुङ निर्माणाधीन छन् ।
ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा परामर्शदाता र निर्माण व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो ।
यसैबीच, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आयोजनाअन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधिन महादेवटार सुरुङको आज आयोजित ब्रेक थ्रुु समारोहलाई सम्बोधन गर्दै उनले सरकारले यस आयोजनाको काम तीन वर्षभन्दा बढी अगाडि बढेको हेर्न नचाहेको बताए । द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने उनले बताए । लचकता अपनाउँदै व्यवसायीहरूलाई पटक–पटक अवसर र सुविधा दिए पनि त्यसको अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै उहाँले निर्धारित समयभित्र काम नसकिने अवस्था देखिए तत्काल ठेक्का अन्त्य गर्न निर्देशन दिए ।