बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालत#दानबहादुर कार्की#अन्तरिम आदेश भएन#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो #सर्वोच्च अदालत#दानबहादुर कार्की#अन्तरिम आदेश भएन#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो
समाचार प्रदेश गण्डकी प्रदेश

संसदीय समितिको स्थलगत अवलोकन : कोरलानाकामा पूर्वाधार निर्माण गर्न ध्यानाकर्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २० मिनेट अगाडि प्रकाशित
संसदीय समितिको स्थलगत अवलोकन : कोरलानाकामा पूर्वाधार निर्माण गर्न ध्यानाकर्षण
मुस्ताङ, मंसिर ९ :

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरलानाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ ।

समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा १५ सदस्यीय टोलीले नाकाको भौतिक पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययनका क्रममा बुधबार कोरलानाकाको अवलोकन गरेको हो ।

अवलोकनका क्रममा व्यवसायी तथा चालकले नाकामा वातावरणमैत्री पूर्वाधार, विद्युत्, इन्टरनेट, खानेपानी र शौचालयको व्यवस्था नहुँदा निकासी तथा पैठारीमा समस्या भइरहेको भन्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । न्हेचुङस्थित सीमा सुरक्षा चौकीका प्रमुख प्रकाश धितालका अनुसार व्यवसायीले सभापति गजुरेलसमक्ष आफ्ना समस्या राखेका थिए ।

सभापति गजुरेलले कोरलानाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जिल्ला प्रशासन कार्यालयको समन्वयमा पुगेको टोलीले नाका तथा लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको अवलोकन गरेको जानकारी दिए। टोली बुधबार नै जोमसोम फर्किएको र बिहीबार काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले समितिसमक्ष नाकामा सुरक्षा चुनौतीभन्दा पनि कमजोर भौतिक संरचनाका कारण मानवीय जोखिम बढी रहेको जानकारी गराएका थिए । उनले चीनतर्फको वैकल्पिक नाकाका रूपमा विकास हुँदै गएको कोरलानाकासम्मको सडक, सुरक्षा, अध्यागमन, क्वारेन्टिन र भन्सारलगायत संरचना व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

टोलीसँगै पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घको स्थल यातायात तथा पारवहन समितिका सदस्य एवं ढुवानी व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले नाकालाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न पूर्वाधार निर्माण आवश्यक रहेको बताए ।

उनका अनुसार चीनतर्फ ठूला भौतिक संरचना निर्माण भइसके पनि नेपालतर्फ आवश्यक संरचना नहुँदा निकासी तथा पैठारी व्यापार प्रभावित भइरहेको छ । पूर्वाधार निर्माण भए प्रतिकूल मौसममा समेत व्यवसायी, मालवाहक कन्टेनर तथा विद्युतीय सवारीसाधनका चालकलाई सहज हुने उनको भनाइ छ ।

सरकारले भन्सार, अध्यागमन, एकीकृत सुरक्षा चौकी र सुक्खा बन्दरगाह निर्माणका लागि कोरलानाकामा एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको छ । केही वर्षअघि पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अध्ययनसमेत गरिएको भए पनि हालसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन ।

अवलोकनमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार