काठमाण्डौँ , कात्तिक १२ :

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ ।
 
 गैरआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजित गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणसभाको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताउनुभएको हो ।

नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनिसकेको उल्लेख गर्दै अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग नभएको बताउनुभयो । सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।
 
गैरआवासीय नेपाली सङ्घको छविलाई कायम राखी सङ्गठनलाई एकताबद्ध राख्दै साझा हितका लागि काम अनुरोध गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने र निष्पक्ष भई स्वतन्त्र रुपमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

आफू सन् १९९९ मा मस्को जाँदा डा उपेन्द्र महतोसँग गैरआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट गर्नुभयो ।
     
प्रधानमन्त्री ओलीले जिम्मेवार नेताबाट हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनी धम्कीपूर्ण भाषा प्रयोग हुन थाल्नु देश र जनताका लागि दुः खद् भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।