जनकपुर, कात्तिक १२ :

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस- प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।

आज बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफु गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको बताउनुभयो।

सरकारले पुनः जनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई तीन दिनदेखि सुन्दै आएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो आपत्तिजनक कार्य मात्र होइन यो सङ्घीय विरोधी कदम पनि हो ।”

सङ्घीय उद्योगमन्त्रीसँग आफूले यसबारे छलफल गरेको चर्चा गर्दै नेता निधिले भन्नुभयो, “उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन लाइसेन्स नवीकरण गर्नमात्र लागिएको बताउनुभएको छ ।”

जनकपुर चुरोट कारखानालाई आफू गृहमन्त्री भएकै बेला निर्णय गराएर मधेस प्रदेशको मातहत ल्याइसकेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनी दिनुभयो ।

उहाँले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसका लागि सबै सतर्क रहन आग्रह समेत गर्नुभयो ।

जनकपुर चुरोट कारखानाको जति पनि सम्पत्ति छ त्यो मधेस प्रदेश सरकारको भएको र यसमा कुनै दुई मत नरहेकाले निजीकरण अथवा कुनै प्रकारको षडयन्त्र भए यसलाई सङ्घीयता विरोधी कदम भन्दै आन्दोलनमा उत्रने उहाँले चेतावनी दिनुभयो ।