चितवन, कात्तिक १३ :

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।  

नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताउनुभयो । 

सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समीकरण बनेको उहाँको भनाइ थियो । 

उपप्रधानमन्त्री सिंहले विधिको शासन कायम गर्नेतर्फ आफूहरूको प्रयास रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले काङ्ग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा गन्तव्यमा पुग्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै भएको उपप्रधानमन्त्री सिंहको भनाइ छ । नेपाली कङ्ग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरसःः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कायम गर्दै विकासलाई सँगै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढङ्गबाट अगाडि बढाउन काँग्रेस सक्षम रहेको बताउनुभयो । 

यसका लागि सबै सङ्गठित भएर अघि बढ्नुपर्ने उहाँको सुझाव थियो ।