काठमाण्डौँ , कात्तिक १५ :

नेकपा माओवादी केन्द्रले आजदेखि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहान ललितपुरको बगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको सालिकमा माल्यार्पण गरेपछि कार्यक्रम आरम्भ भएको हो ।

कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेको अवसर पारेर वर्षभरि नै कार्यक्रम गर्ने माओवादीले जनाएको छ । माओवादी केन्द्रले कर्माचार्यको जन्दशताब्दीको अवसरमा देशैभरि कार्यक्रम गर्न निर्देशन समेत दिएको छ ।

आजै माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दी आरम्भको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठी गर्दैछ । 

दिउँसो साढे १२ बजेदेखि सुरु हुने गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेताहरू मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

वि. सं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिनुभएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो ।

वि. सं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो।

उहाँ वि. सं २००५ साल देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुहुन्थ्यो।