सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग अन्तर्गत श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा आज भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
श्रीलङ्काले माल्दिभ्समाथि खेलको पहिलो सेट २५-२२ ले जित्यो भने दोस्रो सेट २५-१२ ले आफनो पक्षमा पार्यो ।
त्यस्तै खेलको तेस्रो सेट २५-१६ ले जितेपछि प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । जितसँगै श्रीलङ्काले सेमिफाइनल यात्रा तय गरेको छ । पराजित माल्दिभ्स भने सेमिफाइनल होडबाट बाहिरिएको छ ।
श्रीलङ्काले यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा हार ब्यहोरेको थियो । माल्दिभ्स भने यसअघि भारत र इरानसँग समान ३-० को सेटमा पराजित भएको थियो ।
यस खेलसँगै उक्त प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । सेमिफाइनमा नेपाल, भारत, इरान र श्रीलङ्काले स्थान पक्का गरेका छन् । अहिले घरेलु टोली नेपाल र इरानबीच प्रतिस्पर्धा भईरहेको छ ।