
आईसीसी विश्वकप क्रिकेट लिग- २ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।
अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा दश बजे शुरु हुनेछ ।
आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।
लिग- २ मा नेपाल ११ खेलमा दुई जीत सहित पाँच अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । अमेरिका १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ । लिग- २ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित दोश्रो स्थानमा छ ।
नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग- २ खेलिरहेका छन् । अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ ।
यो शृङ्खलाको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्न लागेको हो ।