
तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज सोमबार शल्यक्रियाकक्षको शुभारम्भ गर्दै अस्पतालको थप स्तरोन्नति र विकासका लागि सङ्घीय सरकारको सहयोग रहने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले पालिकास्तरीय अस्पताल सञ्चालन गरेर स्थानिय जनतालाई दिएको सेवा सकारात्मक रहेको बताउनुभयो ।
अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रियाकक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको जानकारी दिनुभयो ।
लामो समयको प्रयासपश्चात् अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । अस्पतालले प्रसूीत, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ ।
अस्पतालमा तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनताले सेवा लिदै आएका छन् ।
अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायतका सेवा उपलब्ध छन्।