बागलुङ, साउन २२ :

बागलुङको उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ ।जैमिनी नगरपालिका-३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो । 

जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ ।

एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रकु र सिस्नोको पाउडर बनाउँदै आएको संस्थाले (गाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनी) दर्ता गरेर अर्गानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिनुभयो । 

अर्गानिक उत्पादनको बजारीकरणमा जैमिनी नगरपालिकासमेतले सघाएको छ । त्यसतै सात लाखको उपकरणमा प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले ८५ प्रतिशत अनुदान दिएको छ । 

एक वर्षभित्र बाँकोको गुन्द्रुक र सिस्नोको धुलो दुईलाखको बिक्री भएको छन्त्यालले जानकारी दिनुभयो । विसं २०७१ मा खसीबोकाको कारोबार गर्न स्थापना भएको सहकारीले एक वर्ष यता आलु चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर विक्री गर्न थालेको हो ।