काठमाण्डौँ , कात्तिक २९ :

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु- १९ महिला टि- २० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईले नेपाल विरुद्ध ब्याटिङ गरिरहेको छ । 

युएईको अजमानस्थित द सेभेन रङ्गशालामा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल र युएईबीचको यो अन्तिम खेल हो । 

एसिया छनोटअन्तर्गत नेपालले यसअघि पाँच खेल खेलिसकेको छ । नेपाल चार खेलमा जित तथा एउटामा हारका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ । 

पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै, दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । 

नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो । मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो । 

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । नेपालले यु- १९ विश्वकपमा छनोट हुनका लागि आजको खेलमा युएईलाई जित्नै पर्ने हुन्छ । साथै, रनरेटमा पनि युएईलाई पछाडि पार्नुपर्ने दबाब छ ।