
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अघिल्लो जेठमा प्रधानमन्त्रीका रुपमा भएको आफ्नो भारत भ्रमणका क्रममा नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात गर्नका लागि भारत सरकार सहमत भएको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरेको छ । विद्युत् व्यापारको इतिहासमा नेपालको बिजुली भारतपछि अर्को देश पुग्न लागेको हो ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि आज प्राधिकरणले विद्युत निर्यात गरेको हो।
विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो ।