
काठमाडौँ, साउन २३ :
लगातारको पानी र उपत्यकाको वरपर लागेको कुहिरोका कारण आन्तरिक हवाई उडानहरु प्रभावित बनेका छन् । एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन विभागका निर्देशक सुभाष झाले जानकारी दिनुभयो ।
बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’भएको छ । अन्तर्राष्ट्रिय उडान आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् ।
आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि सारिएको विमानस्थलले जनाएको छ । वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित सञ्चालन भइरहेको निर्देशक झाले बताउनुभयो । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् ।